Mechi English Boarding School

लागूऔषध दुर्व्यसन तथा घरेलु हिंसाविरुद्ध सचेतनामूलक प्यानल छलफल सम्पन्न

11 day(s) ago

मेची अंग्रेजी माध्यमिक विद्यालयको गौरवमय स्वर्ण महोत्सव तथा पूर्व विद्यार्थी समाज (मेब्स) को संयुक्त आयोजनामा लागूऔषध दुर्व्यसन र घरेलु हिंसाविरुद्ध वृहत् सचेतनामूलक प्यानल छलफल कार्यक्रम सम्पन्न भएको छ। नगर प्रमुख प्रशासकीय अधिकृत सुनीता तुम्बाहाम्फेको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण चेम्जोङको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रहरी, कानुन, समाजसेवा तथा सञ्चार क्षेत्रका विज्ञहरूले दुर्व्यसन र घरेलु हिंसाका कारण, कानुनी पक्ष तथा न्यूनीकरणका उपायबारे छलफल गर्नुभयो।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक हरि बस्नेत, जिल्ला सहायक न्यायाधिवक्ता निशा खनाल, अधिवक्ता रुद्रमणि भट्टराई र लागू पदार्थ सचेतक जीवन भण्डारी प्यानलिस्टका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमको सहजीकरण सूर्योदय टेलिभिजनका प्रमुख टीकाराम नेतीले गर्नुभएको थियो।

छलफलमा परिवार, विद्यालय, प्रहरी, कानुन, स्थानीय सरकार, नागरिक समाज र खेलकुद क्षेत्रबीच सहकार्य गरी युवालाई कुलतबाट जोगाउनुपर्ने निष्कर्ष निकालिएको छ। विद्यालयले आगामी दिनमा पनि सामाजिक विकृति न्यूनीकरणका लागि यस्ता चेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।